समाज

बालुवाटार जग्गा प्रकरणः बयानका लागि ८६ जनालाई अख्तियारले बोलायो

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । बुधबार अख्तियारले सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो । अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ ।

बयानका लागि ‘भूमाफिया’ किटान भएका डा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम भने समावेश गरिएको छैन । ढकाल र सुवेदीसँग सहकार्य गरी जग्गा हडपेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई पनि बयानका लागि बोलाइएको छैन ।

अख्तियारको सूचनामा ढकालकी छोरी लक्ष्मी ढकालको नाम राखिएको छ । भाटभटेनीका सञ्चालक गुरुङका छोरा कल्याण गुरुङलाई पनि बयानका लागि बोलाइएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगले भूमाफिया किटान गरेका ढकाल र सुवेदीका पत्नी क्रमशः उमा ढकाल र माधवी सुवेदीलाई पनि बयानका लागि बोलाइएको छ ।

गोयल समूहको डिएफएल प्रालिलाई पनि अख्तियारले बयानका लागि बोलाएको छ । बयानका लागि बोलाइएका अधिकांश व्यक्तिहरुले ललिता निवासको मोही भनी दाबी गर्दै आएका थिए ।

अख्यितारले ८६ जनाकै नाम र कित्ता नम्बर उल्लेख गरी सूचना जारी गरेको हो ।

रेडियो NRN