अर्थ

प्रदेश १ मा बजेट खर्च निराशाजनक, आगामी वर्षको बजेट कार्यान्वयनमा चुनौती

 
पाँचथर : प्रदेश १ मा विकास बजेटको खर्च अत्यन्तै निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको जेठसम्म ३० प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको सरकारले असार मसान्तसम्म ५० प्रतिशत खर्च गर्ने दाबी गरेको छ ।

चालू आवका लागि प्रदेश सरकारले झण्डै ३६ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर, लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार जेठसम्ममा जम्मा १० अर्ब ५१ करोड रुपैयाँमात्रै बजेट खर्च भएको छ । जसमा पुँजीगततर्फ ५ अर्ब १७ करोड र चालूतर्फ ५ अर्ब ४४ करोड रहेको छ, जुन बजेटको २९.४० प्रतिशतमात्र हो ।तर सरकारले असार मसान्तसम्म कम्तीमा पुँजिगत खर्च ५० प्रतिशत पुर्‍याउने दाबी गरेको छ । कर्मचारी अभावसँगै आवश्यक संरचना र संयन्त्रको समस्या रहेका बेलामा यो स्वाभाविक रहेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्म्बोको भनाइ छ ।

अर्कोतिर अर्थ विज्ञहरुले कुल बजेटको ५० प्रतिशत पनि खर्च गर्न नसकेको अवस्थामा बजेटको आकार बढाउनुको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष सकिन लागेपछि बजेट सक्नकै लागि हचुवामा खर्च गर्दा बजेटको दुरुपयोग हुने बढी सम्भावना रहेको अर्थविद् डा. अर्जुन बराल बताउँछन् ।प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट ल्याएको छ । चालु बर्षको बजेटको खर्च गराइको शैलीले आगामी वर्षको बजेटको कार्यान्वयनमा पनि संशय उत्पन्न भएको छ ।

स्रोत:ईमेज खबर