विश्व

८५ बिरामीको हत्या गरेको अभियोगमा पूर्व नर्सलाई आजीवन कैद

जर्मनीका अस्पतालमा ८५ जना बिरामीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एक जना पूर्व नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ ।

ओल्डेनवर्गको अदालतका न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ८५ जना बिरामीको हत्याको अभियोग लागेको पूर्व नर्स निल्स हुगललाई आजीवन कैदको सजाय सुनाएका हुन् ।न्यायाधीश ब्यूर्मेनले नर्सको सो कार्यलाई ‘सामान्य बुझाइभन्दा बाहिर रहेको’ बताएका छन् ।

पूर्वनर्स हुगलले दुई वटा अस्पतालका ८५ जना बिरामीको हत्या गरेको ठहर अदालतले गरेको हो ।यसअघि पनि दुईजनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९ देखि २००५ सम्म आफ्नो संरक्षकत्वमा रहेका मानिसलाई मुटु रोगसम्बन्धी औषधिको घातक मात्रा दिएको पाइएको थियो ।

उनलाई जर्मनीको आधुनिक इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्तिको रूपमा समेत लिइएको छ ।४२ वर्षीय नर्स निल्स हुगलले सुरुमा बिरामीलाई हृदयाघात हुने खालको औषधि दिने र त्यसपछि ती बिरामीलाई बचाउने कोसिस गर्दथे ।

उनले यो सबै प्रशंसा पाउन र सबैको नजरमा नायक बन्नका लागि गरेको बताइएको छ ।उनले आफ्ना सहयोगीलाई प्रभावित गर्नका लागि बिरामीलाई पुनर्जिवित बनाउने कोसिस गर्दथे । हुगललाई ‘पुनर्जिवित गर्ने रेम्बो’ को उपनाम दिइएको थियो ।

हुगेलमाथि जर्मनीको उत्तरी शहर डेलमेनहस्र्ट र ओल्डेनवर्गमा १०० बिरामीहरुको हत्या गरेको आरोप लागेको थियो ।प्रहरीका अनुसार, उनले अरु बिरामीहरुको पनि हत्या गरेको हुन सक्ने भए पनि शवको दाहसंस्कारका क्रममा सम्भावित प्रमाण नष्ट गरिएको छ ।

हुगलले भने ५५ जनाको हत्या गरेको स्वीकार गरेका छन् । तर, ओल्डेनवर्गको अदालतले उनीमाथि ८५ जनाको हत्या गरेको दोषी ठहराएको छ ।

एजेन्सी