फिचर

घाँटी रेटेर हत्या गरिएकी छात्राको परिवार र सहपाठी त्रासमा भीडियो रिपोर्ट

पाँचथर :; पाँचथरको हिलिहाङ गाँउ पालिका ४ पञ्चमीकी १५ वर्षीय सितल योङहाङका हत्यारा पक्राउ नपर्दा सिंगो गाँउका सर्वसाधारण त्रासमा छन ।

हत्याका मुख्य योजनाकार भनिएका फाल्गुनन्द गाँउ पालिका २ पात्लेभञ्ज्याङ निवासी पदम तामाङ पक्राउ नपर्दा सितलका अविभावक,आफन्त र छिमेकीसँगै सहपाठीसँगै सिंगो गाँउका सर्वसाधारण त्रसित भएका हुन ।
हिलिहाङ ४ स्थित सिद्ध मावि कक्षा १० मा अध्ययनरत योङहाङको बैशाख २९ गते साँझ घर नजिकैको खाली घरमा घाँटी रेटेर हत्या गरिएको थियो ।
घट्ना भएको भोलीपल्ट हत्याका मुख्य योजनाकार भनिएका पदम तामाङका साथी भगिरथ वास्तोला पक्राउ परेपनि तामाङभने फरार छन ।
‘घट्ना भएको एकसाता वित्दासम्म छोरीको हत्यारा पक्राउ परेका छैनन, गाँउघरमै लुकेर वसेका छन भन्ने सुनेका छौं, फेरी अर्को घट्ना घटाउलान कि ? भन्ने डर लागिरहन्छ ।’ मृतककी आमा मनु योङहाङ भन्छिन ।
‘घट्ना पछि आमाको अवस्था झन दयनीय बन्दै गएको छ । खाना खाएकी छैनन । भाइहरु रोइरहन्छन । सम्झाउन वुझाउन कोशिष गर्दा आफ्नै मुटु गाँठो परेर आँउछ ।’छिमेकी प्रेम सेरेङ भन्छन । घट्नापछि मृतकको घरमा आफन्त र छिमेकीको आउ जाउ निकै बाक्लो छ । वुवा बैदेशिक रोजगारीका क्रममा दुवईमा छन । फोन गरेर दोशी पक्राउ प¥र्यो कि छैन भनेर जिज्ञासा राखिरन्छन । हामीसँग उत्तर दिने शव्द पनि छैन । सेरेङ थप्छन ।
सहपाठीको अवस्था अझै नाजुक
उनी पढ्ने सिद्व मावि पञ्चमीमा सितलको हत्या भएको दिनदेखि विद्यार्थी संख्या घटेको छ । छात्राको उपस्थिति लगभग ६० प्रतिसतले घटेको छ । ‘एउटै बेञ्चमा वसेर पढ्ने साथीको हत्या भयो । एकसातासम्म हत्यारा पक्राउ परेका छैनन । घर स्कुलभन्दा टाढा छ बाटोमा जंगल पनि छ हत्याराले लुकेर हामीलाई पनि मार्छन कि ? डर लागिरहन्छ ।’ सहपाठी सृष्टि योङहाङले भनिन । सितल हत्यापछि उनी पढ्ने कक्षाका डेस्कबेञ्च आधाजसो खाली छन । उनको कक्षामा मात्र नभएर साना कक्षाका विद्यार्थीमा उत्तिकै मनोबैज्ञानिक त्रास छ ।
‘विद्यार्थीको के कुरा शिक्षक शिक्षिका र छिमेकीलाई नै एक्लैदोक्लै हिड्ने अवस्था छैन, तपाँईजस्ता नयाँ मान्छे गाँउमा देख्दा को हो र किन आयो भनेर डर लाग्छ ।’ शिक्षिका अम्बिका घिमिरे भन्छिन ।
प्रहरीको नाटक
हत्यारा पक्राऊ गर्न प्रहरीले तदारुकता नदेखाएको स्थानीयको आरोप छ । घट्नाको तेस्रोदिन पक्राउ परेका बास्तोलालाई लिएर घट्नास्थल पुगेका प्रहरीले छिमेकी र आफन्तलाई सान्तवना दिनुको साटो स्कुलवाट सितलका सहपाठीलाई हत्या स्थलमा लगेर हतियार खोज्न लगाएको थियो । बास्तोलाले घाँटी रेटेर जंगलमा खुकुरी फ्याँकेको वयान दिएपछि विद्यार्थीसँगै खुकुरी खोजिएको प्रहरी निरिक्षक अनिल पौडेल दाबी गर्छन ।
हत्यारा खोजेर पक्राउ गर्नुपर्ने प्रहरीले हतियार खोज्न विद्यार्थी प्रयोग गर्दा उनीहरु प्रतिको विश्वास घटेको मृतकका काका पूर्णकुमार योङहाङ बताँउछन ।
घट्ना स्थल घर र विद्यालयको मध्य भागमा छ । हिलिहाङ गाँउ पालिकाको कार्यालय पनि विद्यालय भन्दा ५ मिनेटको दुरीमा पर्छ । गाँउ पालिका केन्द्र नजिकै यत्तिको घट्ना हुन्छ भने हामीले कसरी सुरक्षित हुने ? नागरिक अगुवा इश्वरी गिरी टिप्पणी गर्छन ।
प्रहरीका अनुसार तामाङ र योङहाङ प्रेमी प्रेमिका हुन । तामाङ उनलाई भेट्न घट्ना हुनुभन्दा ४ दिन अगाडी योङहाङको गाँउ आएका थिए । तामाङ गाँउ आएपछि उनीहरुविच मोवाइलको सिम साटासाट भएको थियो । चारदिनको गाँउ वसाइमा प्रेमिकालाई अरु कसैले पनि फोन गर्ने गरेको थाहा पाएपछि हत्या गरेको हुनसक्ने वाँस्तोलाको वयानवाट खुलेको प्रहरी बताँउछ ।
मृतकको परिवारलाई गाँउ पालिकाले राहत स्वरुप १ लाख रुपैंया उपलव्ध गराएको हिलिहाङ ४ का वडाध्यक्ष सिरिप्रसाद सिगुले वताए ।