विचार

स्मरण श्रीअन्तु घुमघाम र सुर्योदय दृश्यावलोकनको

राधा गौतम


सानै छदा नाङलो जत्रै आकार भएर घाम उदाँउछन रे, झुल्कँदै गर्दा कोक्रो हल्लिएझैं देखिन्छ रे यी र यस्तै धेरै कुरा सुनेकी थिँए श्री अन्तुका वारेमा । अलि ठुली हुँदा रेशमैको पछ्यौरी अल्झेछ जंगली काँडैमा, झुल्के घाम हेर्न कान्छी जाँउ अन्तु डाँडैमा भनेर रोशन गुरुङले गाएको गीतमा खुब नाँचेकी थिँए । तर छिमेकी जिल्ला पाँचथरमा जन्मेर पनि त्यहाँ पुग्ने संयोग भने जुरेको थिएन । यसैविच नेपाल पत्रकार महासंघको १ नम्वर प्रदेश भेला श्रीअन्तुमा आयोजना हुँदैछ भन्ने जानकारी पाएसँगै ६ बैशाख २०७६ मा त्यसतर्फ लाग्ने अठोट लिए । प्रदेश पार्षद भएका नाताले त्यो भेलामा जानु जिम्वेवारी समेत रहेकाले जानै पर्ने निर्णय पारिवारिक बैठकबाट अनुमोदन गराइयो ।
यो सँगै बैशाख ६ गते बिहानै त्यसतर्फ लाग्ने तयारी गरियो । बिहान १० वजे फिदिमबाट मोटर साइकलमा सानी छोरी समृद्वीलाई च्यापेर पत्रकार महासंघ पाँचथर शाखाका पुर्व अध्यक्ष लक्ष्मी गौतम (मेरो जीवन साथी ) र म इलामतर्फ लाग्यौं । अघिल्लो दिनसम्म बैशाखमास हावाहुरी,असिना र चट्याङका कारण ठाँउ ठाँउमा क्षति पुगेका समाचार आफैंले पढेकी, त्यसमा पनि मोटरसाइकल मार्फत लामो यात्रा कताकता मनमा डरपनि लाग्दै थियो । मोटरसाइकल लालिखर्क हुँदै कान्छी दोकानतर्फ अगाडी वढेपछि आकाशमा लागेको कुहिरोका धव्वा क्रमशः फाट्न थाले, आकास खुल्दै गयो वाँयातर्फको कञ्चनजंघा र कुम्भकर्ण हिमालमा परेको हिँउ टिलिक्क टल्किन थाल्यो । अव मन प्राकृतिक सौन्दर्यतासँगै रमाउन थाल्यो । सानी छोरी हिउ र हिमाल देख्दा बेला बेलै रमाउने, उनका पिता बेला बेलै हिमाललाई ढाक्यो कान्छी हिँउको पछ्यौरीले भन्दै गीत गुनगुुनाउने यात्रा थप रमणीय बन्दै गयो । पौवाभञ्ज्याङ कटेपछि गुम्वाडाँडाका गोलाई गन्दै राँकै पुगेर होटल एसडि ग्रान्डमा हल्का नास्ता लिएर इलामतर्पm अगाडी बढ्यौं । सानी छोरीको इच्छा अनुसार इलाम बजार र टुँडिखेललाई थोरै थोरै नियाल्दै जीरो किलोमिटरमा रहेको डिजी ट्रेडर्समा मोटर साइकल चेक गराएर पुनः अगाडी वढ्यौं । सानी छोरीको इच्छा अनुसार कहिले लेज,कहिले कुर्मुरे त कहिले चटपटे पसलमा हामी रोकिदै फिदिमबाट हिँडेको ३ घण्टा पश्चात माइखोला पुुगियो । हुन त वर्षमा एकदुइपटक झापा झरिन्थ्यो तर चारपांग्रे गाडीमा हिँड्दा मैले ख्याल गरेकि थिइन कि क्या हो सानी छँदा झापा मावल जाँदा देखेको माइखोलामा पानी छपक्कै सुकेको रहेछ । कुरो बुझ्दा त्यहाँवाट निकालिएका हाइड्रो पावरले यहाँको पानी पिइसकेका रहेछन । त्यसपछि गोदकको उकालो हुँदै बाह«गोलाई गन्दै फिक्कल पुग्दा पत्रकार महासंघ १ नम्वर प्रदेश सदस्य विपेन्द्र गौतम र गणेश साम्पाङसँग भेट भयो । विपेन्द्र दाईको प्रश्ताबमा गणेश दाई चिया पिलाउन तत्पर हुनुभयो । भोलीपल्ट श्रीअन्तुमा हुने कार्यक्रमको सेडुलवारे चर्चा गर्दै चिया पियौं । चियाँ पिउने क्रममा मैले कन्याम गएर २–४ सेल्फी हान्ने र केहि फोटो खिच्न राखेको प्रश्ताव सवैवाट अनुमोदन भयो । केहिबेर त्यहाँ गएर फोटोसेसन चलाइयो ।
अव हाम्रो यात्रा मेची राजमार्ग छोडेर श्री अन्तुतर्फ मोडियो फिक्कलवाट ५ किलोमिटर तल झर्दा सिद्धिखोला वारी पारी वाँसका भाटा कपेर वनाइएका माचमा रोपिएका स्कुस लहलह हुर्किदै ठाँउ ठाँउमा चियाका वुट्यान र मन वहलाउने वगान अहा कत्ति रमाइलो । अव खोला तरेर उकालो बाटो । त्यो पनि ठाडो तर कालोपत्रे गरिएको मोटर साइकल अगाडी वढ्दा पछाडी बस्नेहरु अझै पछाडी सर्ने केहि कष्ट जस्तो तै पनि पट्यार भने पटक्कै लागेको थिएन खोलो तरेर २ किलोमिटर अगाडी बढेपछि छोरीले बरु म त अन्तु नआएर मावल गएकी भए रमाइलो हुन्थ्यो होला भन्दा केहि खल्लो महशुष भयो । लामो बाटो भएर तिमीलाई त्यस्तो भान भएको हो माथि पुगे पछि पक्कै रमाइलो हुनेछ भनेर सम्झाँउदा सम्झाँउदै अन्तु वजार पुगियो । आयोजकले वसाइको व्यवस्थापन होम स्टेमा गरेको रहेछ । हामी आलेगाँउका सिभन्या होम स्टेमा वस्नु पर्ने रहेछ । त्यहाँ पुुगेर चिया नास्ता गरेपछि होम स्टे सञ्चालिकाले तपाइहरु फ्यामिलि हुनुहुँदो रहेछ छुट्टै कोठामा व्यवस्था मिलाँउछु है भन्दै मुस्कुराइन । मैले हुन्छ भने । उनका श्रीमान सुरेन आलेले हामीलाई नजिकैको दलवहादुर होम स्टेमा पु¥याइदिए । मेरो लागी होम स्टे पनि पहिलो अनुभव थियो । बाहिर विभिन्न रङले सजाएका साना आकर्षक घर भित्र पस्दा चिटिक्क परेका वेडरुम,सफा कपडा,सामग्री मिलाएर राखिएका किचन अनि ट्वाइलेट र वाथरुमको सरसफाइ पनि उत्तिकै त्यो भन्दा राम्रो अतिथि सत्कार । कोठामा कपडा परिवर्तन गरेर साँझपख घुम्न निस्कँदा सिभन्या होम स्टेमा पाँचथर पत्रकार महासंघका अध्यक्ष लवदेव ढुंगाना,पार्षदहरु जितेन्द्र भण्डारी,घनेन्द्र केरुङ र सेसेहाङ लावतीसँग भेट भयो । केहिवेर सँगै चिया बगान घुमियो । यत्तिवेला साँझले छपक्कै छोपिसक्यो अव होम स्टेमा फर्केर खाना खाइयो । होम स्टेमा पकाइएको दाल–तरकारी,वनाइएको अचार आदि स्थानीय उत्पादन र फरक स्वादको ।
साढेसात बजे नै खाना खाएर सुतियो । भोलिपल्ट सुर्योदय हेर्न जाने चर्चा चलाँउदा अन्तुवासीले भनेका थिए यो त सिजन होइन,घाम देखिँदैन कुहिरोले ढाक्छ आदि आदि ।
यहाँसम्म आएर पनि सुर्योदय नहेरी जानु अहँ त्यो हुँदैन भन्दै जस्तो मौसम भएपनि गएरै छोड्ने श्रीमान जीको निर्णय थियो ।
सधैं रेडियोबाट घर आएर खाना खाएर सुत्दा १० वजिसक्थ्यो । आज चाँडै सुतेकाले होला एघार बज्दा नवज्दै बिँउझिइएछ । बाहिर हेर्दा टहटह जुन अनि सिरसिरे हावा । साढेतीन बजेदेखि २ वटा भाले पालैपालो बास्न थाले । भाले बास्दा कुखुरालाई घडी चरो भन्नुको वास्तविक अर्थ थाहा भयो । मान्छे उठ्नुभन्दा अगावै उठेर उज्यालो हुन लागेको जनाउ दिने भएकाले यस्लो घडी चरो भनिएको रहेछ । अव ४ वजे उठेर अन्तुडाँडा जाने तयारी गरियो निदाइरहेकी नानी पनि सँगसँगै उठेर तत्पर भइन । करिब ४५ मिनेटको पैदल यात्रामा अन्तुडाँडा पुग्दा भर्खरै गेट खुलेको रहेछ । टिकट लिएर सरासर भित्र पस्यौं । टावरका फेदमा चिया नास्ता पकाएर बेच्नेहरु त्यस अगावै सकृय भइसकेका । खानेकुराको पर्वाह नगरी टावर चढियो । पूर्वमा लाली चढ्न थालेको रहेछ हाम्रो साथमा १ नम्वर प्रदेशका पत्रकारसँगै झापा मोरङ सुनसरीवाट आएका झण्डै तीनसय आन्तरिक पर्यटक घामको झुल्को हेर्न लालायित थियाँंै । करिब आधा घण्टाको प्रतिक्षा पश्चात सुर्याेदय भयो । शुरुमा लाली चढ्दै क्रमशः चम्किलो ताराको आकार निरन्तर वढ्दै घाम झुल्किदा उपस्थित सवैले ताली बजाएर हर्षोल्लास मनायौं । साथमा रहेकी छोरीले चकित हुँदै भनिन वाउ १मामु कत्ति रमाइलो म धन्न आँएछु दिदीलाई पनि साथमै ल्याउनु पर्ने रहेछ । घाम झुल्केको दृश्य यत्तिको नजिकै र प्रष्टसँग देख्न सकिने भएकाले यो नगर पालिकाको नाम नै सुर्योदय राखिएको रहेछ । सुर्योदय पश्चातका किरणमा कोहि फोटो कोहि भिडियो खिच्ने त कोहि चिया नास्तासँगै रमाउने साच्चिकै स्मरणीय रह्यो त्यो विहानी । वास्तवमै वाल्यकालमा सुनेको सुर्योदय हुँदाका चर्चा अनि श्री अन्तुको बयान गरेर गाइएका गीत सार्थक रहेछन । त्यो विहानी यत्तिमा मात्रै सिमित भएन । होम स्टे फर्केर चिया नास्ता गरेपछि अन्तु पोखरी तर्फ अगाडी वढ्यौं ।त्यहाँ समुदायले गरेको पोखरीको सरसफाई अनुकरणीय लाग्यो । त्यहि पोखरीमा विविसी सम्वाददाता सीता निरौला सहित ताप्लेजुङका पत्रकारहरुसँग भेट भयो । उहाँहरुसँगै टिकट काटेर अन्तु पोखरीमा एक फन्को बोटिङ जलयात्रा गरियो । जलयात्रा पनि पहिलो अनुभव थियो मेरा लागि ।
जलयात्रा पछि छोरीले घोडा चढ्ने रहर गरिन बाबा छोरी लिएर घोडा चढी पुनः अन्तुपोखरी वरिपरि फन्को लगाउन थाल्नुभयो । अव पत्रकार महासंघको साधारणसभा उद्घाटन कार्यक्रमको बेला भइसकेको थियो । हामी पुनः श्री अन्तु सामुदायिक होम स्टेको सामुदायिक भवनतर्फ अगाडी वढ्यौं । कार्यक्रम स्थल पुग्दा प्रमूख अतिथिका रुपमा निम्त्याइएका नेकपा नेता झलनाथ खनालको प्रतिक्षा गरिँदै रहेछ । त्यो रिक्त समयको सदुपयोग गर्दै मैले पुनः अन्तुडाँडा नजिकैको सालघारी जंगल घुम्ने प्रस्ताव राखे । केहि साथीहरु भेला भएर त्यसतर्फ लाग्यौं । सिनित्त परेका सल्लाका वोट फेदमा सेतो रङ रोगन गरिएको छिन छिनमा सिरिरि चल्ने सिरेटो साँच्चिकै रमणीय थियो त्यहाँको वातावरण ।
घुमघाम पश्चात कार्यक्रम स्थल आइपुग्दा भर्खर आसन ग्रहणको कार्यक्रम शुरु हुँदै थियो प्रमूख अतिथि खनालसँगै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट पुर्व महासचिव चन्द्र भण्डारी सहित पत्रकारका विभिन्न राजनैतिक संघठनवाट आएका पदाधिकारीलाई अतिथिको दीर्घामा आसन ग्रहण गराइयो । यद्धपी ड्यासमा आसन ग्रहण गराइएकाहरुको सूचीमा महिलाको उपस्थिति अत्यन्तै न्युन थियो । हुन त प्रदेश साधारण सभामा भाग लिन गएका मध्ये पत्रकार महिलाको संख्या पनि उल्लेख्य थिएन ।
यस्ले पछिल्लो समय नेपाल पत्रकार महासंघले सदस्य संख्याका आधारमा पत्रकार महिलालाई पार्षद बनाउन तयार गरेको विधानको कतै कतै धज्जी उडाएको भान हुन्थ्यो ।
साधारण सभामा निम्त्याइएका अतिथि वक्ताहरु मध्ये पत्रकार महासंघका पुर्व महासचिव चन्द्र भण्डारीले मन्तव्यमा पत्रकारिताको आवरणमा गैर कानूनी काम गर्ने व्यक्तिहरुलाई पेचिलो प्रहार गर्नुभयो । पत्रकारिता मात्रै नभएर राजनीतिमा अझै धेरै वद्मासी भइरहेको र वद््मास राजनीतिज्ञहरुको झुण्डमा अवसर लिन छिरेका पत्रकारको गतिविधिले समग्र सञ्चार क्षेत्रलाई धुमिल्याउने काम भएको भन्दै भण्डारीले भाषण गर्दा केहि पत्रकारले मुख अमिलो पारेको र धेरैले समर्थन गरेको भान हुन्थ्यो । समाजमा सत्य कुरा गर्नेको सुनुवाई नहुने प्रसंग कोट्याउदै उहाँले झलनाथ खनाल जस्ता सच्चा राजनीतिज्ञको आवाज पार्टि भित्रै मधुरुो बन्दै गएकोमा दुःख लागेको भन्दा खनाल स्वयम मुुसुमुसु हास्नुभयो । झट्ट हेर्दा खनालको स्वास्थ निक्कै कमजोर भएको भान हुन्थ्यो । उहाँले उठेर भाषण गर्दा हात र शरीर पुरै काँपिरह्रयो । झण्डै आधा घण्टा लामो भाषणमा उहाँले लोकतन्त्र प्राप्तीका लागि पत्रकारले खेलेको भूमिकाको खुलेर चर्चा गर्नुभयो । सरकार प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सञ्चार माध्यमप्रति नकरात्मक दृष्टिकोण राख्न थालेको आभाष भएको भन्दै उहाँले त्यसो गर्नु नहुने धारणा राख्नुभयो ।
विहान १० बजे शुरु भएको कार्यक्रमका खुल्ला र बन्द दुबै सत्र दिँउसो ३ वजे सकिए । कार्यक्रम सकिदा नसकिदै धेरै साथीहरु गन्तव्य तर्फ अगाडी वढिसकेका थिए । झिमझिम पानी परेकाले हामी भने बच्चाका साथ फिदिम आउन नसक्ने निक्र्यौल निकाल्दै अन्तुमै बस्यौं ।
त्यो रात हामी वसेको होम स्टेमा धाँमी राख्ने दिन परेको रहेछ । घरबेटी दाजुको ग्रह गोचर बिग्रेकाले धामी लगाउन ज्योतिषले दिएको घरबेटी भन्दैहुनुहुन्थ्यो । साँझ ७ वजेदेखि झण्डै १२ वजेसम्म ढ्यांग्रो र थाल ठटाउने काम भयो ।
हुन त धाँमी झाँकी,भुतप्रेत र देबी देवता सबै आश्थाका विषय हुन यद्धपी इलाम जस्तो ठाँउ जहाँको शिक्षा स्वास्थ र चेतना धेरै अगाडी वढेको छ त्यहाँ पनि भुतप्रेत भगाएर ग्रहशान्ति गर्न धामी झाँक्री लगाउदा मलाई भने निक्कै आश्चार्य लाग्यो ।
दुई दिनको अन्तु वसाई पश्चात बैशाख ८ गते बिहान ६ वजे हामी फिक्कलतर्फ हानियौं । सुस्त गतिमा विभिन्न स्थानमा गाडी रोक्दै फोटो खिच्दा,चिया नास्ता लिदै राँकेमा एकवर्ष अगाडी खुलेको होटेल चामुमा खाना खाएर फिदिम आइपुगियो ।
यात्रा अवधिभर कँहि कतै मौसम खराब भएन,सवारी साधनले धोका दिएन अनि धेरै नयाँ र थोरै पुराना साथीहरुसँगको भेटघाट अत्यन्तै स्मरणीय रह्यो मेरो श्री अन्तु यात्रा र सुर्योदयको दृश्यावलोकन ।