अर्थ

नक्कली प्रहरी बनेर लुटपाट गर्ने पक्राउ

नक्कली प्रहरी बनेर एउटा समूहले विराटनगर महानगरपालिका–८ भलुवाइका सिंहेश्वर यादवको घरमा सोमबार राति लुटपाट मच्चाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका सादा पोशाकका प्रहरी हौँ, घर खानतलासी गर्नु पर्नेछ भन्दै जबरजस्ती छिरेका चारजनाले ६५ हजार रुपैयाँ लुटेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न मोरङको जहदा गाउँपालिका–६ का २४ वर्षीय सिमान्त करदार ९मण्डल० लाई लुटपाटमा प्रयोग भएको को ३७ प ४४७२ नम्बरको मोटरसाइकलसहित सोमबार राति पक्राउ गरेको छ ।

घटनामा संलग्न अन्यको खोजी गर्ने क्रममा लुटपाटका मुख्य योजनाकार तथा घटनामा संलग्न विराटनगर–८ का २५ वर्षीय समिर कामतलाई मंगलबार दिउसो बुढीगंगा गाउँपालिका–४ नेमुवाबाट पक्राउ गरिएको डीएसपी श्रेष्ठको भनाइ छ ।

उनका अनुसार घटनामा संलग्न अन्य दुईजना फरार रहेका कारण खोजी तिव्र पारिएको छ । पक्राउ परेकाहरु विरुद्ध भने मुलुकी अपराध कार्यविधि संहिता ऐन २०७४ बमोजिम म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

२०७५ कात्तिक १४ गते मोरङको कटहरी गाउँपालिका–१ का निरज भनिने दर्पण श्रेष्ठको मोबाइल तथा कात्तिक २७ गते विराटनगर–७ की चन्द्रकला बस्नेतको ब्याग भित्र रहेको ६० हजार रुपैयाँ, मोबाइल र एटिएम कार्ड लगायतका वस्तु लुटपाटको घटनामा पक्राउ परेका मध्ये समिरको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मंसिर १ गते पनि पक्राउ गरेर उनी विरुद्ध मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत मोरङले २० हजार रुपैयाँ धरौटीमा छाड्न मंसिर २८ गते आदेश दिएको थियो ।
अदालतको आदेशबाट छुटेर पनि समिर लुटपाटका घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ ।

स्रोत अन्नपूर्ण बाट