फिचर

नेपाल कम्युनिस्ट पार्टी नेकपाले ७७ वटै जिल्ला नेतृत्वको नाम टुंगो लगाएपनि जिल्ला नेता र कार्यकर्तामा तिव्र असन्तुष्टि

नेपाल कम्युनिस्ट पार्टी नेकपाले ७७ वटै जिल्ला नेतृत्वको नाम सोमबार टुंगो लगाएपछि पश्चिम र पूर्वी नवलपरासीका जिल्ला नेता र कार्यकर्तामा तिव्र असन्तुष्टि देखिएको छ ।

पश्चिम नवलपरासीका केही नेता र कार्यकर्ताहरुले जिल्ला तहमा समानन्तर कमिटी गठन गर्ने चेतावनी समेत दिएका छन् । पार्टीमा लामो समयदेखि काम गरेका र योगदान गरेकालाई बेवास्ता गर्दै नेतृत्वको जिम्मेवारी दिएको भन्दै दुबै जिल्लाका केही नेता र कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै समान्तर कमिटी गठनको चेतावनी दिन थालेका हुन् ।

कार्य मूल्यांकन बिना जिम्मेवारी दिएकोले त्यसको प्रत्यक्ष असर संगठनमा देखिने उनीहरुको भनाइ छ । दुबै जिल्लाका केही नेताहरु आफैँ जिल्ला अध्यक्ष र सचिव हुने दौडमा थिए । तर अर्कैलाई जिम्मेवारी दिएपछि नेता र उनका समर्थक कार्यकर्तामा असन्तुष्टि बढेको हो । असन्तुष्ट नेताहरु प्रभावशाली छन् ।

जिल्ला स्तरका तत्कालिन एमाले र माओवादी केन्द्रका नेताहरुले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘ भागबण्डामा तत्कालिन जुन पार्टीको परे पनि अधिकांश कार्यकर्ताको भावना अनुसारको हुनुपथ्र्यो, त्यो भएन । विधिका नाउँमा पार्टीमा लामो समयदेखि योगदान गरेका कार्यकर्ताहरुलाई लत्याउनु संगठनका लागि घाटा हो ।’

पश्चिम नवलपरासीमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष घनश्याम यादव सर्वसम्मत अध्यक्ष हुनेमा अधिकांश नेकपाका कार्यकर्ताहरु विश्वस्त थिए । यादवलाई अध्यक्ष र तत्कालीन एमालेका संगठन विभाग प्रमुख एंव सचिव थानप्रसाद गैरेको नाम जिल्ला सचिवमा सिफारिस गरिएको थियो ।

प्रदेश पार्टी कमिटीले समेत दुवैको नाउँ सर्वसम्मत केन्द्रीय सचिवालयमा पठाएको नेकपा स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले समेत यादव र गैरेको नाम सर्वसम्मत रुपमा सचिवालयमा पठाएका थिए ।

आइतबार साँझको बैठकले एकाएक नाम परिवर्तन गरेपछि जिल्लामा असन्तुष्टि बढेको एक नेताले भने । प्रदेश कमिटीले समेत सर्वसम्मत गरेर पठाएको नाममा परिवर्तन गरेर अर्कै साथीलाई जिम्मेवारी दिएको भन्दै तत्कालीन एमाले जिल्ला नेता थानप्रसाद गैरेले आश्चर्य व्यक्त गरे । अधिकांश कार्यकर्ताहरु प्रदेश कमिटीले सिफारिस गरेका नेताहरु हुनेमा विश्वस्त थिए तर अर्कै साथीको नाम आएपछि आश्चर्य मानेको गैरेले बताए । उनले पार्टीका केही साथीमा असन्तुष्टि बढे पनि त्यसले संगठनमा कुनै असर नपर्ने दाबी गरे ।

नेकपाका एक जिल्ला नेताका अनुसार असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले पश्चिम नवलपरासीमा समानन्तर जिल्ला कमिटी बनाउने चेतावनी पार्टी केन्द्रीय नेताहरुलाई दिन थालेका छन् ।

पश्चिम नवलपरासीमा अध्यक्षको जिम्मेवारी तत्कालिन माओवादी केन्द्रका भविश्वर तिवारी ‘आजाद’ लाई दिइएको छ । तिवारी तत्कालिन माओवादीको जिल्ला इन्चार्ज थिए । सचिवको जिम्मेवारी तत्कालीन एमालेका जिल्ला सचिव तुलसी पासीलाई दिइएको छ ।

यस्तै पूर्वी नवलपरासीमा पनि नेतृत्वप्रति नेता र कार्याकर्ताहरु असन्तुष्ट देखिएका छन् । पूर्वी नवलपरासीमा तत्कालिन एमालेले अध्यक्ष पाएको छ । एमालेकै नेताहरु अध्यक्षको जिम्मेवारीमा असन्तुष्ट देखिएका हुन् ।