मोफसल

हतियार संकलनमा ताप्लेजुङ प्रहरीको नयाँ रेकर्ड

पाँचथर : संघीय सरकारले विना इजाजत राखेका हतियार वुझाउन सर्वसाधारणलाई दिएको ३५ दिनको अवधिमा ताप्जेजुङ जिल्लामा मात्रै १ सय २५ नाल बन्दुक संकलन गरेको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार यो १ नम्वर प्रदेशका जिल्लाहरुमा संकलित सबैभन्दा बढी हतियार हो । ताप्लेजुङका प्रहरी नायव उपरिक्षक सञ्जयसिंह थापाका अनुसार १० नाल ब्यारेल सहित विना लाइसेन्स घरमा राखेका ८५ नाल बरामद भएका छन । यो सँगै इजाजत लिएर राखेका ४० नाल र १२ बोरको ५ राउण्ड गोली पनि संकलन भएको प्रहरीले जनाएको छ ।
खोजीकै क्रममा ३ राउण्ड गोली सहित १ थान रिभलवर भेटाएको प्रहरीले जनाएको छ । यो लुकाई छिपाइ राखेको हतियार बरामद गरेको प्रहरीले जनाएको छ । हतियार संकलनका लागि सबै सुरक्षा निकाय सकृय भएको र गाउँका प्रहरीलाइ विशेष परिचालन गरिएको थापाको भनाई छ । यस्तै पाँचथरमा यो अवधिमा ३३ नाल बन्दुक संकलन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी –(प्रहरी निरिक्षक) अनिल पौडेलले जानकारी दिए । संकलन भएका मध्ये धेरै हतियार भरुवा बन्दुक छन । गृह मन्त्रालयले बैशाख ५ गते राति १२ बजेसम्ममा आफूसँग भएको हतियार बुझाउन नागरिकलाई आहृवान गरेको थियो । यो अवधिमा हतियार बुझाउनेलाई कुनै कानूनी कारबाही नहुने उल्लेख छ । ताप्लेजुङ प्रहरीले भने हतियार संकलनको अवधि सकिएपछि प्रहरीले सोमबार प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सहित जिल्लाका सबै सुरक्षा प्रमुखहरु, उद्योगी, ब्यापोरी, ब्यवसायी लगायतको उपस्थितिमा संकलन गरिएको हतियार सार्वजनिक गरेको थियो । सरकारले आफूसँग रहेको अवैध हतियार बुझाउन नागरिकलाई ३५ दिनको समय दिएको थियो । ताप्लेजुङले एक नम्बर प्रदेसमै सबैभन्दा बढी हतियार संकलन गरेको छ । यो अवधिमा एक नम्वर प्रदेशका १४ जिल्लामा २ सय ५ नाल हतियार संकलन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सुचना अधिकारी –(प्रहरी नायव उपरिक्षक ) सिद्धराज न्यौपानेका अनुसार संकलित मध्ये ९५ नाल वन्दुक इजाजत लिएर राखेका पनि छन ।