फिचर

पुस्तक विमोचनमै विहे , किन गर्नु तामझाम ?

पाँचथर : विमोचनमै बिहे । सुन्दा अचम्म लागे पनि बिहीबार राजधानीमा यस्तै भएको छ । दुई साहित्यकार बलराम दाहाल र भैरवी ढुंगाना राष्ट्रिय नाचघर जमलमा कृति विमोचनका लागि तयार भए ।

संस्कृतिविद् सत्यमोहन जोशीले दाहालको कविता संग्रह ‘भाडा नलाग्ने कोठा’ र ढुंगानाको ‘अस्वीकृत शालिनता’ विमोचन गरे ।

विमोचनपछि कार्यक्रम सञ्चालक सरोज घिमिरेले स्वयम्बरका लागि दुवै साहित्यकारलाई आग्रह गरे । हेर्दा हेर्दै दाहाल र ढुंगानाको स्वयम्बर भयो ।

केही साहित्यप्रेमीलाई ‘सरप्राइज’ भयो भने केहीले पहिल्यै सूचना पाइसकेका थिए । निम्ता पठाइएका धेरैलाई बैबाहिक समारोहमात्र भनिएकाले कतिपयलाई सुरुमा विश्वास पनि नभएको घिमिरेले जानकारी दिए ।

त्यसपछि सत्यमोहन जोशी, पूर्वमन्त्रीद्वय आनन्द पोखरेल र महेन्द्र पाण्डेय, प्रा।डा। वासुदेव त्रिपाठी, प्रा। राजेन्द्र सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रतिष्ठानका सदस्यसचिव जगत प्रेक्षित, सांसद जीपछिरिङ लामालगायतले दाम्पत्य जीवनको शुभकामना व्यक्त गरे ।

शुभकामना लगत्तै सिन्दुर पोतेको काम भयो । दोलखाका दाहाल र नुवाकोटकी ढुंगानाको बैबाहिक समारोह भनिए पनि भव्य भोज थिएन । थियो त केवल समोसा र मिठाइ । न उपहार लेनदेन भयो न पञ्चेबाजा घन्कियो ।

करिब तीन घण्टाको उक्त कार्यक्रममा पण्डित बालचन्द्र अधिकारीबाट बैबाहिक विधिको सामान्य प्रक्रिया भयो भने सुरुआतमा बटुकले स्वस्ति वाचन गरेका थिए । शिखा बुक्सले प्रकाशन गरेका कृतिमा डा। शैलेन्दुप्रकाश नेपाल र प्रभाती किरणले समीक्षा गरेका थिए ।

रेडियो मितेरी Live

error: Content is protected !!